नुवाकोट बेलकोटगढीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी–शिक्षकलाई सम्मान



बेलकोटगढी, चैत २० — बेलकोटगढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बाघाखोरस्थित कार्यालयमा आयोजित कार्यक्रममा ९ विद्यालयका ५७ जना विषयगत शिक्षकलाई शतप्रतिशत नतिजा दिलाएको योगदानका लागि सम्मान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट जीपीए ल्याउने ५ जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ। पुरस्कृत विद्यार्थीहरू महादेव माध्यमिक विद्यालय, रातमाटेका कविशा रिमाल (प्रथम), दिपास्ना दाहाल (द्वितीय), हरिशरण न्यौपाने (तृतीय), निर्देश नेपाल र कृतना लामिछाने (चतुर्थ) रहेका छन्।

नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले सम्मानितहरूलाई खादा र मालासहित अभिनन्दन गर्नुभयो। यसअघि उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ कल्याणी मावि प्रथम, पञ्चकन्या मावि द्वितीय र आरुखर्क मावि तृतीय भएका थिए।

कार्यक्रममा नगरप्रमुख गुरुङले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यालयहरूलाई अझ गुणस्तरीय शिक्षातर्फ अग्रसर हुन आग्रह गर्नुभयो। सम्मानित शिक्षक तथा विद्यालयहरूले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्