वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुँदै
काठमाडौँ,चैत २०। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
महानगरका अनुसार दुई प्रमुख रुटमा विद्युतीय बस सञ्चालन हुनेछन्। लगनखेलदेखि बुढानीलकण्ठसम्म उत्तर–दक्षिण १६ किलोमिटरको रुट र थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व–पश्चिम २० किलोमिटरको रुट निर्धारण गरिएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य हुने समस्यालाई समाधान गर्न यो सेवा सुरु गर्न लागिएको हो।
सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ भने हरेक २० मिनेटमा बस उपलब्ध हुनेछन्। बसमा सिसिटिभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगरप्रहरी परिचालन गरिने जनाइएको छ।
महानगरले यो सेवामार्फत यात्रुलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

