रेडियो नेपालले लोकतन्त्र स्थापनामा ठूलो योगदान पुर्यायो : मन्त्री तिमिल्सिना
काठमाडौँ, चैत २१ — सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले रेडियो नेपाल ले मुलुकमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।
रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले विगत र वर्तमानमा रेडियोको भूमिका फरक र फराकिलो बन्दै गएको उल्लेख गर्दै संस्थाको संरक्षण र सुदृढीकरणमा कार्यरत पत्रकार तथा कर्मचारीको जिम्मेवारी महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
उहाँले रेडियो नेपालको मुख्य दायित्व लोकतन्त्रलाई संस्थागत गर्नु भएको भन्दै सत्य र जिम्मेवार पत्रकारितामार्फत सूचना प्रवाह गर्न आग्रह गर्नुभयो। साथै, सञ्चार माध्यमले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जनतालाई सही दिशा र जानकारी दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत ले परिवर्तित समयअनुसार रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार रेडियो नेपालको पहुँच हाल ९४ प्रतिशत नागरिकसम्म पुगेको छ।
यस्तै, सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्ट ले विभिन्न उतारचढाव पार गर्दै रेडियो नेपाल हालको अवस्थामा आइपुगेको बताउँदै संस्थागत सुधारका लागि संक्रमणकालीन चुनौतीहरू क्रमशः समाधान गर्दै लगिने बताउनुभयो।कार्यक्रममा वक्ताहरूले सञ्चार माध्यमलाई विश्वसनीय, जिम्मेवार र जनमुखी बनाउँदै देशमा आशा र भरोसा जगाउने दिशामा काम गर्नुपर्नेमा जोड दिएका थिए।

