देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ, चैत २१ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम रहँदा देशभर मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका साथै हिमाली भू–भागमा सामान्यदेखि मध्यम बदली भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
शनिबार दिउँसो हिमाली तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारण बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। आज राति पनि देशका पहाडी र हिमाली भू–भागमा बदली कायम रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले सम्भावित वर्षा, हिमपात र हावाहुरीबाट हुन सक्ने प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

