अबुधाबीमा मिसाइल अवशेषले लाग्दा ७ नेपाली घाइते
काठमाडौँ,चैत २१ । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्।
अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय पार्दा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो।
उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।
घटनापछि सबै घाइतेलाई तत्काल अस्पताल भर्ना गरिएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा आपतकालीन सेवा परिचालन गरी अवस्था नियन्त्रणमा लिएको जनाएको छ।
क्षेत्रीय सुरक्षा तनावका बीच भएको उक्त घटनाले मध्यपूर्वमा बढ्दो जोखिमप्रति थप चिन्ता उत्पन्न गरेको छ।

