नुवाकोटमा एसइई उत्तरपुस्तिका केन्द्रमै जाँच: नयाँ अभ्यासले गति र पारदर्शिता दुवै बढाउँदै



• भरतसन्तोषी लामा

नुवाकोट, चैत २१ — माध्यमिक शिक्षा परीक्षा (एसइई) सँगै यस वर्ष नुवाकोटमा पनि एउटा फरक अभ्यास सुरु भएको छ। परीक्षा सकिएपछि उत्तरपुस्तिका केन्द्रमै परीक्षण गर्ने नयाँ प्रणालीले शिक्षा क्षेत्रमा नयाँ अनुभव थपिरहेको छ।

जिल्लाका १९ परीक्षा केन्द्रमा ४ हजार २३४ विद्यार्थी सहभागी भइरहेका छन्। परीक्षा सकिएलगत्तै सम्बन्धित केन्द्रमै कापी परीक्षण सुरु हुने व्यवस्था गरिएको छ, जसले नतिजा छिटो प्रकाशन गर्ने लक्ष्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख रामचन्द्र इटनीका अनुसार प्रहरी प्रशासन,शिक्षाका विज्ञ र स्थानीय शिक्षा शाखाको समन्वयमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। नयाँ कार्यविधिअनुसार केन्द्राध्यक्षलाई नै परीक्षण व्यवस्थापनको जिम्मेवारी दिइएकोले काम व्यवस्थित र सौहार्दपूर्ण रूपमा अघि बढिरहेको उहाँ बताउनुहुन्छ।

तर, सबै काम सहज भने छैन। प्रत्येक केन्द्रमा परीक्षार्थी संख्या बढी भएकाले परीक्षा भएको दिनमै सबै कापी परीक्षण सक्न कठिन हुने गरेको छ। “विद्यार्थी धेरै भएकाले कामको चाप बढी छ,” इटनीले भन्नुभयो, “तर प्रक्रिया रोकिने अवस्था छैन, निरन्तर अघि बढिरहेको छ।”

अर्कोतर्फ, खाजा–पानी तथा अन्य सेवासुविधाबारे स्पष्ट निर्णय नआइसके पनि शिक्षक तथा कर्मचारीहरू जिम्मेवारीपूर्वक काममा खटिएका छन्। यसले शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको समर्पण पनि झल्काउँछ।

देशभर चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारको लक्ष्य छ। देशभर अपनाइएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने अभ्यास सफल भएमा आगामी वर्षहरूमा यसलाई अझ विस्तार गर्न सकिने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्