लमजुङमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते
लमजुङ, चैत २१ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेँसीमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीया गङ्गामाया (त्रिवेणी) गुरुङ र ३५ वर्षीया पुष्प घले रहेका छन्। सदरमुकाम बेँसीसहरबाट छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप उकालो घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा घाइते हुनेमा विमलादेवी घले, रीता गुरुङ, सफल गुरुङ, सन्तबहादुर घर्ती, प्रकाश गुरुङ, करण अधिकारी, प्रिशिका गुरुङ, सोमलाल तामाङ, विमान घले, इन्द्र घले र रुद्रमान घले रहेका छन्।
घाइते सबैलाई उपचारका लागि बेँसीसहरस्थित अस्पताल ल्याइएको छ भने गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसमेत घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

