राष्ट्रिय निबन्ध प्रतियोगितामा नुवाकोट जनज्ञान निकेतनकी सदिक्षा भण्डारी प्रथम



नुवाकोट, चैत २१ — निवृत्त शिक्षक समाज केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय स्तरको निबन्ध प्रतियोगितामा नुवाकोटकी छात्रा सदिक्षा भण्डारी प्रथम भएकी छन्।

जनज्ञान निकेतन माध्यमिक विद्यालय मा कक्षा ११ मा अध्ययनरत सदिक्षाले “विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा” शीर्षकमा उत्कृष्ट निबन्ध प्रस्तुत गर्दै देशभरबाट पहिलो स्थान हासिल गरेकी हुन्।

प्रतियोगिता सातै प्रदेशमा सञ्चालन गरिएको थियो। जिल्ला स्तरमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका निबन्ध कोड नम्बरमार्फत केन्द्रमा पठाई मूल्यांकन गरिएको थियो। सोही प्रक्रियामा सदिक्षाको निबन्ध उत्कृष्ट ठहरिएको हो।

पञ्चकन्या गाउँपालिकास्थित पञ्चकन्या–५ भेडाबारीकी सदिक्षाले यसअघि जिल्ला स्तरमा पनि प्रथम स्थान हासिल गरेकी थिइन्।

उनलाई प्रथम स्थान हासिल गरेकोमा समाजका अध्यक्ष शम्भु प्रसाद शर्माले बधाई दिएका छन्। चैत ३० गते केन्द्रमा नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गर्ने कार्यक्रम तय गरिएको समाजका प्रतिनिधि रामबहादुर थापाले जानकारी दिएका छन्।

यसअघि नुवाकोट शाखाले भने उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिसकेको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्