सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ



काठमाडौँ, चैत २२ — सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्स का अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार बिहान नियन्त्रणमा लिएको हो। उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने विवरण भने खुलाइएको छैन।

यसअघि विभागले अग्रवालका पिता तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद वित्तीय कारोबारको अनुसन्धानका क्रममा दुवैजनामाथि अनुसन्धान अघि बढाइएको हो। सोही अनुसन्धानकै सिलसिलामा इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई पनि यसअघि काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो।

अग्रवाललाई हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। करोडौंको शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले करिब साढे दुई वर्षअघि नै यी दुई संस्थाबीचको वित्तीय कारोबारबारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो। त्यसपछि प्रारम्भिक अनुसन्धान भए पनि पछि फाइल बन्द गरिएको थियो। नयाँ सरकार गठनपछि भने पुरानो फाइल पुनः खोल्दै अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्