नियमविपरीत भर्ना र शुल्क असुली नगर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ, चैत २२ — सरकारले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अतिरिक्त शुल्क असुल्ने विद्यालयहरूप्रति कडा चेतावनी दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार जारी सूचनामार्फत केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली २०५९ तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै अवैध रूपमा भर्ना र शुल्क असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयले नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र निर्धारित मापदण्डबाहेक कुनै पनि अतिरिक्त शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ।
साथै, अभिभावकबाट कानुनविपरीत उठाइएको शुल्क फिर्ता गराउन स्थानीय तहलाई समेत अनुरोध गरिएको छ। तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय सञ्चालन जस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी गतिविधि दण्डनीय हुने भएकाले सबै विद्यालयलाई सचेत रहन आग्रह गर्नुभएको छ।


