प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र लुम्बिनीको शानदार जित



काठमाडौँ, चैत २२ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश विजयी भएका छन्।

जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १६३ रनले पराजित गर्‍यो। २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमै ४६ रनमा समेटियो, जुन प्रतियोगितामा उसको सबैभन्दा कम योगफल हो।

सुदूरपश्चिमको जितमा हेमन्त धामीले ह्याट्रिकसहित ७ विकेट लिए भने शेर मल्लले ३ विकेट झारे। यस जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। बागमती भने ४ अंकसहित आठौँ स्थानमा छ।

त्यस्तै वीरगन्जमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हरायो। २५७ रनको लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा २०६ रनमै अलआउट भयो।

जितसँगै लुम्बिनी ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। समान अंक भए पनि नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लब ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्