जेनजीजस्तो आन्दोलन दोहोरिन नदिने गरी काम गर्छु : सभामुख अर्याल
काठमाडौँ, चैत २३ — प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले भविष्यमा जेनजीजस्ता आन्दोलन दोहोरिन नदिने गरी कानुन, नीति र नियम निर्माणमा ध्यान दिने बताउनुभएको छ।
आइतबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले जेनजी आन्दोलनका कारण जनधनको क्षति भएको स्मरण गर्दै त्यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउनेतर्फ आफू केन्द्रित हुने बताउनुभयो।
सभामुख अर्यालले आन्दोलनपछि भएको निर्वाचनबाट नयाँ नेतृत्व आएको उल्लेख गर्दै अब जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले ध्वस्त भएका संरचनाहरू पुनर्निर्माणका लागि आवश्यक परे नयाँ कानुन निर्माण गरी छिटो काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामुख अर्यालले सबै राजनीतिक दल र सांसदसँग सहकार्य गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने पनि बताउनुभयो।

