इरानमा इन्टरनेट अवरोध ३७ दिन पुग्यो, ‘सबैभन्दा लामो’ भएको दाबी
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि लागू गरिएको इन्टरनेट अवरोध अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रव्यापी अवरोध भएको नेटब्लक (NetBlocks) ले जनाएको छ।
नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट ८६४ घण्टा अर्थात् ३७ दिनदेखि बन्द छ, जुन विश्वमै पहिलोपटक यति लामो समयसम्म कायम रहेको अवरोध हो।
इन्टरनेट अवरुद्ध हुँदा नागरिकहरू सूचना पहुँचबाट वञ्चित भएका छन्। इस्फाहान र तेहरानका स्थानीयहरूले इन्टरनेट नहुँदा ‘अक्सिजन बिना जस्तो’ अवस्था भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
युद्धका बीच स्थानीय स्तरको सीमित इन्टरनेट सेवा सञ्चालनमा रहे पनि अन्तर्राष्ट्रिय सञ्जाल पहुँच निकै सीमित भएको छ। कतिपयले VPN प्रयोग गरेर पहुँच खोज्ने प्रयास गरे पनि त्यसमा कडाइ गरिएको छ।
यसअघि पनि इरानमा सरकारविरुद्धको प्रदर्शनका क्रममा लामो समयसम्म इन्टरनेट अवरोध गरिएको थियो।

