आमनिर्वाचनमा सेना तटस्थ र व्यावसायिक रह्यो : प्रधान सेनापति सिग्देल



रुपन्देही, चैत २३ — नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आमनिर्वाचनमा नेपाली सेनाले पूर्ण तटस्थता र व्यावसायिकता कायम राखेको बताउनुभएको छ।

रुपन्देहीको योगीकुटीस्थित मध्यपश्चिम पृतना कार्यालयमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सेनाले सधैँ अराजनीतिक चरित्र कायम राख्दै आएको उल्लेख गर्नुभयो।

सेनापति सिग्देलले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन बहालवाला तथा अवकाशप्राप्त सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई संगठनका लागि गर्वको विषय भएको बताउनुभयो।

उहाँले नेपाली सेना राष्ट्रिय सार्वभौमिकता, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा सैनिक कल्याणकारी कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिँदै भूतपूर्व सैनिक र आश्रित परिवारको हितमा थप कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

यस वर्ष ‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ नारासहित विभिन्न पृतनाअन्तर्गत देशभर भूपू सैनिक सम्मेलन आयोजना गरिँदै आएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्