देशभर मौसममा बदली, वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, चैत २३ — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसहित पहाडी र हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। महाशाखाका अनुसार सोमबार दिउँसो पहाडी र हिमाली भूभागमा बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

आज राति हिमाली क्षेत्रमा बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।मौसमविद्हरूले वर्षा, हिमपात र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्