फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी, गृहमन्त्री गुरुङ कानुनी उपचारमा जाने
काठमाडौँ, चैत २३ — गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दाबी गर्दै कानुनी उपचारमा जाने स्पष्ट पार्नुभएको छ।
फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालनका लागि भाडामा लिइएको जग्गा मापदण्डविपरीत रहेको पाइएपछि उहाँले यस्तो निर्णय लिनुभएको हो।
सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउने क्रममा उक्त जग्गा पनि मापदण्डभित्र परेको खुलेको थियो।
मन्त्री गुरुङका अनुसार जग्गाधनीहरूले उक्त जग्गा मापदण्डभित्र नपर्ने भन्दै गलत जानकारी दिएर लिजमा उपलब्ध गराएका थिए। त्यसपछि नगरपालिकाबाट बुझ्दा मात्रै वास्तविक अवस्था थाहा भएको उहाँको सचिवालयले जनाएको छ।
सोही कारण मन्त्री गुरुङसहित अन्य साझेदारले कानुनी प्रक्रियामार्फत न्याय खोज्ने तयारी गरिरहेका छन्।

