चैतमै २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाखभन्दा बढी कुखुरा नष्ट
काठमाडौँ, चैत २३ — यस वर्ष चैत महिनामै देशका विभिन्न २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार यसअघि वर्षभर बर्डफ्लु नदेखिएकोमा पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारीमा संक्रमण पुष्टि भएको थियो।
हालसम्म सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवन र काठमाडौँमा १/१ स्थानमा संक्रमण देखिएको छ। काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय परिसरका कागमा समेत बर्डफ्लु भेटिएको जनाइएको छ।
संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिई करिब १ लाख ४ हजार कुखुरा तथा हाँस नष्ट गरिएको विभागले जनाएको छ।
सुनसरी, झापा र मोरङ जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ भने सरकारले नष्ट गरिएका पशुपक्षीबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।
विभागले हालसम्मको नियन्त्रण प्रयास प्रभावकारी रहेको र संक्रमण थप नफैलिएको जनाएको छ।

