कार्यसम्पादन मूल्यांकनमा नुवाकोट दोस्रो, मनाङ पहिलो



नुवाकोट, चैत २३ — गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक जिल्ला श्रेणी तालिकामा नुवाकोट जिल्ला देशभर दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

मन्त्रालयले विभिन्न सूचकका आधारमा गरेको मूल्यांकनमा कुल २०.२५ पूर्णाङ्कमध्ये नुवाकोटले १९.३७५ अंक प्राप्त गरेको हो। ७७ जिल्लामध्ये यो उपलब्धिलाई स्थानीय प्रशासनको सक्रियता र कार्यकुशलताको रूपमा हेरिएको छ।

तथ्याङ्कअनुसार नुवाकोटले मूल्यांकनका लागि तोकिएका ५४ मापदण्डमध्ये ५५ वटा फाइल अपलोड गरेको थियो। तीमध्ये ५४ फाइल स्वीकृत भएका छन् भने एक फाइल अस्वीकृत भएको देखिएको छ।

यस सूचीमा हिमाली जिल्ला मनाङ १९.५ अंकसहित पहिलो स्थानमा रहेको छ। डोटी, पर्वत, रुपन्देही र स्याङ्जा समान १९.२५ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले अनलाइन प्रणालीमार्फत कार्यसम्पादन विवरण अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले विकास, सुशासन र सेवा प्रवाहमा जिल्लाबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको जनाएको छ।

तालिकाअनुसार संघीय राजधानी रहेको काठमाडौँ जिल्ला भने ७७औँ स्थानमा सीमित भएको छ भने धनुषा र पर्सा क्रमशः ७६औँ र ७५औँ स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्