मध्यपूर्वमा युद्ध चर्किँदै, इरान–इजरायल तनाव खतरनाक मोडमा
काठमाडौं, चैत २३ — मध्यपूर्वमा जारी द्वन्द्व झनै चर्किँदै जाँदा इरान, इजरायल र अमेरिकाबीचको तनाव खतरनाक मोडमा पुगेको छ। पछिल्ला घटनाक्रमले युद्ध अझ फैलिने सङ्केत दिएका छन्।
सोमबार इजरायलको उत्तरी सहर हाइफामा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले पनि तेहरानमा ‘शासन लक्षित’ आक्रमण सुरु गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार तेहरानका आवासीय क्षेत्रमा विस्फोट भई ग्यास आपूर्ति प्रभावित भएको छ।
इरानले नागरिक संरचनामाथि आक्रमण जारी रहे ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दिँदै समयसीमा थप गर्नुभएको छ।
द्वन्द्व खाडी क्षेत्रसम्म फैलिँदै गएको छ। कुवेत र संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमण विफल पारिरहेको जनाएका छन्। साथै, हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट आक्रमण पुनः सुरु गरेपछि लेबनानमा पनि द्वन्द्व गहिरिएको छ।
लेबनानमा आइतबार मात्र कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाइएको छ। युद्धको प्रभाव ऊर्जा क्षेत्रमा पनि देखिएको छ। कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने संकेत दिएको छ।
सैन्य रूपमा पनि अमेरिका सक्रिय देखिएको छ। खसालिएको एफ–१५ लडाकू विमानका एक एयरम्यानलाई उद्धार गरिएको अमेरिकी पक्षले जनाएको छ भने इरानले उक्त कारबाही असफल भएको दाबी गरेको छ।
यसैबीच, धार्मिक र मानवीय चिन्ता पनि बढेको छ। पोप लियो चौधौँले शान्तिको आह्वान गर्दै हिंसाबाट टाढा रहन आग्रह गर्नुभएको छ।समग्रमा, बढ्दो सैन्य गतिविधि, ऊर्जा संकट र कूटनीतिक टकरावले मध्यपूर्वको अवस्था थप जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्।

