नुवाकोटमा भीषण असिनापानी : पाक्नै लागेको बालीमा क्षति, किसानको पीडा कस्ले सुन्छ?



नुवाकोट, चैत २३ — खेतबारीमा सुनौलो रङ चढ्दै थियो, मकै हुर्किदैथियो । गहुँ-तोरी काट्ने तयारी हुँदै थियो। तर, एक्कासि आएको असिना र हावाहुरीले किसानको त्यो आशा केही मिनेटमै चकनाचुर बनाइदियो।

नुवाकोटको माथिल्लो पहाडी भूभाग—शिवपुरीका गुर्जे,खोलेगाउँ,तलाखु, सुनखानी, थानापती,  थानाभञ्ज्याङ, चापाबोट क्षेत्रदेखि काठमाडौँको झोर आसपाससम्म परेको सोमबारको असिनापानीले गहुँ, तोरी र तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको हो।

अन्न भित्र्याउने बेलामा परेको यो प्राकृतिक विपत्तिले किसानलाई झन् निराश बनाएको छ। “अहिले त मकै हुर्किदै र गहुँ-तोरी काट्ने बेला भएको थियो, सबै ढलायो,” एक स्थानीय किसान दलबिर तामाङले गुनासो गरे।

पहिले नै जंगली जनावर—बाँदर, बदेल, दुम्सी र चराचुरुङ्गीबाट जोगाएर राखेको बाली अन्ततः प्रकृतिको प्रहारबाट बच्न सकेन। तामाङ भन्छन्, “दिनरात पसिना बगायौँ, तर भित्र्याउने बेलामा प्रकृतिले नै साथ दिएन।”

गाउँका किसानका अनुसार यस्तो अवस्था हरेक वर्ष दोहोरिँदै गए पनि प्रभावकारी क्षतिपूर्ति र संरक्षणको व्यवस्था अझै कमजोर छ। कृषि बीमा, राहत र दीर्घकालीन समाधानका कुरा धेरै सुनिए पनि व्यवहारमा पुग्न नसकेको उनीहरूको गुनासो छ।

स्थानीय तह र सम्बन्धित निकायले क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने प्रतिबद्धता दोहोर्‍याउछ्न । तर किसानहरू तत्काल राहत र दीर्घकालीन सुरक्षाको अपेक्षामा वर्षौं बिताउन विवश हुन्छन् ।

असिनाको चोटले केवल बाली मात्र होइन, किसानको मनोबल पनि च्यातिएको छ। अहिले उनीहरूको एउटै प्रश्न छ—“हाम्रो मर्का कसले सुन्छ?”

प्रतिक्रिया दिनुहोस्