एउटै विद्यालयमा दोहोरो भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ,चैत २४— शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक–पटक भर्ना शुल्क नलिन देशभरका विद्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्नसमेत स्पष्ट निर्देशन जारी गरेको छ।
यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ स्थानीय तहलाई पत्राचार गर्दै प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न भनिएको छ।
केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने तथा स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले कडाइ गरेको हो।
मन्त्रालयका अनुसार प्रचलित कानुनविपरीत भर्नापछि मात्र लिन मिल्ने शुल्क अग्रिम रूपमा उठाउने, फरक–फरक शीर्षकमा रकम असुल गर्ने र कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिने जस्ता गतिविधि देखिएको छ।
यस्ता कार्य कानुनविपरीत भएकाले तुरुन्त रोक्न र अभिभावकबाट असुल गरिएको गैरकानुनी शुल्क फिर्ता गराउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ।


