बाँदर नियन्त्रणका लागि बजेट छुट्याउन सांसद अच्युतम लामिछानेको माग



काठमाडौँ,चैत २४ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नुवाकोट–२ का प्रतिनिधिसभा सदस्य अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले बाँदर नियन्त्रण नगरिए कृषिमा लगानी गर्नुको अर्थ नहुने धारणा राख्नुभयो। सांसद लामिछानेले सरकारले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि बजेट आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमा करिब पाँच लाख बाँदर रहेको अनुमान छ। प्रतिबाँदर करिब १५ सय रुपैयाँ खर्च लाग्ने देखिएको छ, त्यसका लागि बजेट छुट्याउनुपर्छ।”

पछिल्लो समय बाँदरको आतंकका कारण नुवाकोटका माथिल्लो पहाडी क्षेत्रका कृषियोग्य जमिन समेत बाँझिन थालेका छन्। किसानहरू उत्पादन घटेपछि वैकल्पिक रोजगारीको खोजीमा गाउँ छोडेर शहरतर्फ बसाइँसराइ गर्न थालेका छन्।

निर्वाचनका क्रममा पनि स्थानीयले बाँदर नियन्त्रणलाई प्रमुख मुद्दाका रूपमा उठाउँदै आएको उल्लेख गर्दै सांसद लामिछानेले किसानको समस्या समाधानका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्