ट्रम्पलाई हटाउन २५औँ संशोधन प्रयोग गर्न अमेरिकी सांसदहरूको माग
वाशिङ्टन डी.सी.,चैत २४— अमेरिकी सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन संविधानको २५औँ संशोधन लागू गर्न माग गरेका छन्।
उक्त संशोधनले राष्ट्रपतिले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्थामा सत्ता हस्तान्तरण गर्ने व्यवस्था गरेको छ। तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र माथिल्लो सदन (सिनेट) का केही सदस्यहरूले यस्तो माग अघि सारेका हुन्।
तल्लो सदनकी सांसद यास्मिन अन्सारीले ट्रम्पविरुद्ध उक्त संवैधानिक व्यवस्था प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले ट्रम्पले अवैध र विध्वंसकारी युद्धको धम्की दिएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राख्नुभयो। यसअघि इल्हान ओमर र मेलानी स्ट्यान्सबरीले पनि ट्रम्पलाई पदबाट हटाउनुपर्ने माग गरिसकेका छन्।
त्यस्तै डेमोक्रेटिक सिनेटर क्रिस मर्फीले पनि राष्ट्रपतिका गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। उनले यस्ता विवादास्पद निर्णयहरू रोक्न रिपब्लिकन नेताहरूले समेत पहल गर्नुपर्नेमा जोड दिएका छन्।

