ट्रम्पको धम्कीपछि इरानको कडा चेतावनी: ‘भुल्न नसक्ने जवाफ दिनेछौं’
तेहरान/वाशिङ्टन,चैत २४— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “एउटा सभ्यता ध्वस्त हुनेछ” भनी दिएको धम्कीलगत्तै इरानले कडा प्रतिक्रिया जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी)ले ट्रम्पको अभिव्यक्तिपछि “भुल्न नसक्ने जवाफ” दिने चेतावनी दिएको हो।आइआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीविरुद्ध अहिलेसम्म आफूहरूले संयम अपनाएको उल्लेख गरेको छ। तर, अमेरिकी सेनाले आफ्नो सीमाभन्दा बाहिर हस्तक्षेप गरे प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिइएको छ।
उक्त वक्तव्यमा इरानले आवश्यक परे अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको पूर्वाधारलाई निशाना बनाउने र तेल–ग्यास आपूर्ति लामो समयसम्म प्रभावित पार्ने चेतावनी समेत दिएको छ। मध्यपूर्वमा बढ्दो तनावबीच यस्तो अभिव्यक्तिले क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको विश्लेषण गरिएको छ।

