आज देशभर वर्षा, चट्याङ र असिनाको सम्भावना, सावधानी अपनाउन आग्रह
काठमाडौँ,चैत २५— जल तथा मौसम विज्ञान विभागले आज बुधबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा र हिमपात हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ।हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको र यसको प्रभाव अझ बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार यसको असर विशेषगरी पश्चिम नेपालमा बढी देखिनेछ भने दिउँसोसम्म यसको प्रभाव काठमाडौँ उपत्यकासहित अन्य क्षेत्रमा पनि फैलिनेछ।
बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहने तथा अन्य स्थानमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
विभागले बिहीबार पनि देशभर बदलीको अवस्था कायम रहने पूर्वानुमान गर्दै जनजीवन र दैनिक कार्यमा सतर्कता अपनाउन आग्रह गरेको छ।

