हर्मुज खुल्ने सर्तमा दुई साताको युद्धविराम, मध्यपूर्वमा तनाव घट्ने संकेत



काठमाडौं,चैत २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरान बीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत हर्मुज जलडमरू तुरुन्त खोल्ने सर्तमा यस्तो सहमति भएको जानकारी दिएका हुन्।

उनका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन्। यससँगै इजरायल ले पनि अस्थायी रूपमा सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ। यो सहमति सहबाज सरिफ को पहलपछि सम्भव भएको हो। उनले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई साताको समय दिन युद्धविराम प्रस्ताव अघि सारेका थिए।

यसबीच इरानले आफूले अमेरिका माथि ‘ठूलो विजय’ हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ। ट्रम्पले पनि उक्त प्रस्ताव वार्ताका लागि उपयुक्त आधार भएको बताएका छन् ।युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ। विश्लेषकहरूका अनुसार यस कदमले मध्यपूर्वमा दीर्घकालीन शान्तिको सम्भावना बढाएको छ।

यसअघि ट्रम्पले इरानलाई हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने चेतावनी दिएका थिए। सो समयसीमा सकिन लाग्दा यो सहमति भएको हो। पाकिस्तानको सक्रिय कूटनीतिक पहलले तत्काल ठूलो युद्ध टरेको देखिएको छ।

दुई साताको युद्धविराम अवधिमा वार्ता सफल भएमा क्षेत्रीय स्थायी शान्तिको मार्ग खुल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्