चार जिल्लामा बर्डफ्लु फैलिँदै, २३ व्यावसायिक फार्म प्रभावित



काठमाडौं,चैत २५ । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण हाल चार जिल्लाका २३ वटा व्यावसायिक कुखुरा फार्ममा फैलिएको छ। पशुसेवा विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनमा एक फार्ममा संक्रमण पुष्टि भएको हो।

विभागले व्यावसायिक फार्म नजिक रहेका ठूला रुखमा बस्ने चरामार्फत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरेको छ। ती चराबाट लेयर्स कुखुरा फार्ममा रोग सरेको हुन सक्ने बताइएको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म कम्तीमा एक लाख १३ हजार ६०८ कुखुरा तथा हाँस नष्ट गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिनुभयो। साथै, चार जिल्लामा दुई लाख ११ हजार ८६७ वटा अन्डा र २५ हजार आठ सय किलो दाना पनि नष्ट गरिएको छ। नष्ट गरिएका पन्छीमध्ये करिब ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको जनाइएको छ।

“बर्डफ्लुको फैलावट दर उच्च भएकाले नियन्त्रणका लागि नष्ट गर्नु अनिवार्य भएको हो,” महानिर्देशक दाहालले भन्नुभयो, “अन्य जिल्लामा संक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको छ र तीनै तहका सरकारसँग समन्वय गरेर नियन्त्रणको प्रयास भइरहेको छ।”

पशुसेवा विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार अधिकांश फार्म सिमसार क्षेत्र नजिक रहेका छन् र जैविक सुरक्षामा लापरवाही देखिएको छ। सवारीसाधन तथा आगन्तुकको अनियन्त्रित आवतजावत, अन्डा राख्ने क्रेटको उचित निसंक्रमण नगरी पुनः प्रयोग, तथा एउटै व्यक्तिबाट पर्याप्त सुरक्षा उपायबिना कुखुरा र मासुको कारोबारले संक्रमण फैलिन सहयोग गरेको देखिएको छ।

विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको क्षतिपूर्तिस्वरूप किसानलाई राहत प्रदान गरिने जनाएको छ। “राहतसम्बन्धी मापदण्ड, २०७९” अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा किसानले क्षतिको ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था रहेको छ। पशु चिकित्सक डा. मनोजकुमार शाहीका अनुसार बर्डफ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने अत्यन्त संक्रामक तथा घातक भाइरल रोग हो।

प्रतिक्रिया दिनुहोस्