पोशाक क्षेत्रमा ठूलो रोजगारी संकटको चेतावनी
काठमाडौं,चैत १६6 । नेपाल कम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोशाक क्षेत्र गम्भीर संकटमा पर्ने सरोकारवालाले चेतावनी दिएका छन्। नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले आगामी दिनमा ठूलो मात्रामा रोजगारी गुम्ने जोखिम रहेको बताएका हुन्।
नेपाल तयारी पोशाक उद्योग संघद्वारा आयोजित ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोशाकको निर्यात प्रवर्द्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले झण्डै १ लाख ३२ हजार जनाको रोजगारी प्रभावित हुन सक्ने बताए। उनका अनुसार आगामी पाँच वर्षभित्र विशेषगरी कम आय भएका तथा शिक्षामा पहुँच कम भएका श्रमिकहरू सबैभन्दा बढी मारमा पर्नेछन्।
तयारी पोशाक क्षेत्रको दीगो विकासका लागि ‘ग्रीन गार्मेन्ट भिलेज’ र ‘टेक्सटाइल तथा तयारी पोशाक काउन्सिल’ गठनको माग वर्षौंदेखि गरिँदै आए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे।
देशभर रहेका करिब १ हजार २ सय ८५ रुग्ण गार्मेन्ट उद्योगहरू पुनः सञ्चालन गर्न सके तत्काल ५० हजारभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने पाण्डेको दाबी छ। उनले यसका लागि स्पष्ट कार्ययोजना, सहुलियतपूर्ण वित्तीय पहुँच तथा नीतिगत सुधार आवश्यक रहेको बताए।
संघले ‘फार्म टु फाइबर, फाइबर टु फेब्रिक, फेब्रिक टु फेशन र फेशन टु एक्सपोर्ट’ अवधारणाअनुसार उद्योग विकासको लक्ष्य राखेको भए पनि सरकारी सहयोग अभावमा यो योजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको भनाइ छ।
कपास विकास प्राधिकरण खारेज हुनु र एलडिसी ग्रेजुएशनपछि आवश्यक ‘डबल ट्रान्सफरमेसन’का लागि पर्याप्त तयारी नहुनुले उद्योगीहरू थप चिन्तित बनेका छन्।
सरकारले हालै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग अनिवार्य गर्ने निर्णय गरेकोमा भने उनले स्वागत गरेका छन्। यसले ‘अफ सिजन’मा समेत उद्योगलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
तर, निर्यात प्रोत्साहनसम्बन्धी नयाँ कार्यविधि निर्माण गर्दा व्यवसायीहरूको सहभागिता सुनिश्चित नगरिएको र बजेट विनियोजन न्यून भएकोप्रति उनले असन्तुष्टि जनाए। साथै, २०२१ सालको पुरानो कानुनले वर्तमान प्रतिस्पर्धात्मक बजार धान्न नसक्ने भन्दै समयअनुकूल कानुन परिमार्जन गर्न सरकारसँग माग गरिएको छ।

