नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि



काठमाडौं, चैत २५ — नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। मंगलबार सामान्य वृद्धि देखिएको सुनको मूल्य बुधबार भने एकैदिन उल्लेख्य दरले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रूपैयाँले बढेर २ लाख ९९ हजार रूपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो, जसमा ४ सय रूपैयाँको मात्रै वृद्धि भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार २५ रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५ रूपैयाँले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार ८ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको जनाएको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

प्रतिक्रिया दिनुहोस्