जापानबाट उठ्यो सहयोग: जीवनसँग जुधिरहेकी नुवाकोट छहरेकी प्रमिला मल्लका लागि आशाको उज्यालो
नुवाकोट, चैत २५ । नुवाकोटको छहरे बजारकी प्रमिला मल्लका लागि यतिबेला प्रत्येक दिन संघर्षले भरिएको छ। दुबै मिर्गौला फेल भएपछि उनी जीवन र मृत्युको दोसाँधमा उभिएकी छिन्। उपचारको खर्च धान्न नसक्ने अवस्था आउँदा परिवारमाथि परेको पीडालाई कम गर्न विदेशमा रहेका आफ्नै गाउँघरका मानिसहरूले सहाराको हात बढाएका छन्।
नेपालदेखि टाढा जापानमा बसे पनि मन भने आफ्नै माटोसँग जोडिएको रहेछ। यही भावनालाई आत्मसात् गर्दै नुवाकोट समाज जापानले प्रमिलाको उपचार सहयोगार्थ अभियान सुरु गर्यो।सानो–सानो सहयोग जोडिँदै जाँदा ठूलो राहत बन्न सक्छ भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ।
समाजका अध्यक्ष ज्ञानेन्द्र पुडासैनीका अनुसार मंगलबारसम्म प्रमिला मल्लको खातामा जापानी येन १,०५,५०० जम्मा भइसकेको छ।विदेशमा पसिना बगाइरहेका नेपालीहरूले आफ्नो कमाइको अंश छुट्याएर पठाएको यो रकम उपचारमा केही राहत बन्ने अपेक्षा गरिएको छ।
सहयोग प्राप्त गरेपछि प्रमिलाको आवाजमा आशा मिसिएको छ। “म एक्लो छैन रहेछु भन्ने महसुस भयो,” उनी भन्छिन्, “मलाई सहयोग गर्ने सबैप्रति म हृदयदेखि नै आभारी छु।” कठिन अवस्थाबीच पनि उनले छिट्टै निको हुने विश्वास व्यक्त गरेकी छिन्।
यस अभियानमा जापानमा रहेका नेपालीहरूको उल्लेखनीय साथ देखिएको छ। श्रवण सत्यालले ¥३,०००, शिबहरि पाण्डेले ¥५,५५५, भवानी पन्तले ¥५,५५५, डिलाराम न्यौरेले ¥३,३३३, राज पुरीले ¥३,३३३, रञ्जित गौतमले ¥३,३३३, बालकुमार श्रेष्ठले ¥५,५५५, बाबुराम पौडेलले ¥२,०००, जीवन पोखरेल ‘कञ्चन’ले ¥२,०००, श्यामहरि पाण्डेले ¥४,०७१, गणेश प्रसाद ढकालले ¥३,०००, सचिता सुवेदीले ¥२,०००, साजन मिजारले ¥१०,०००, अबिरल जी.के.ले ¥२,२२२, सुमी पाठकले ¥२,०००, हरि लामिछानेले ¥३,०००, प्रकाश अधिकारीले ¥५,५५५, सिवानी पाण्डेले ¥२,०००, ज्ञानेन्द्र पुडासैनीले ¥५,५५५, सुवास लामिछानेले ¥५,०००, सुनिल देवकोटाले ¥२,००१, गोकर्ण अधिकारीले ¥२,२२२, सन्तोष अधिकारीले ¥५,५५५, सुन्दर थपलियाले ¥३,०००, रामजंग कार्कीले ¥३,०००, अप्रिषा न्यौपानेले ¥१,१११, सालिकराम भण्डारीले ¥३,०००, सुदीप सुवेदीले ¥२,२२२, शोभा डंगोलले ¥२,२२२ र भगवान भण्डारीले ¥३,१०० सहयोग गरेका छन्।
यो अभियान केवल आर्थिक सहयोग मात्र होइन, भावनात्मक साथको पनि प्रतीक बनेको छ। समाजका महासचिव सन्तोषी अधिकारीका अनुसार यस्तो सहकार्यले विदेशमा रहेका नेपालीहरूको एकता र मानवीय भावना झल्काउँछ। विशेषगरी लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका श्यामहरि पाण्डेको सक्रियताले अभियानलाई गति दिएको बताइन्छ।
जीवन बचाउने संघर्षमा जुटेकी प्रमिलाका लागि यो सहयोग केवल रकम होइन, आशाको किरण बनेर आएको छ। देशदेखि टाढा रहेका नेपालीहरूले देखाएको सद्भाव र सहकार्यले कठिन परिस्थितिमा पनि मानवता जीवित छ भन्ने सन्देश दिइरहेको छ।

