देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, इन्टरपोल नोटिसको तयारी
काठमाडौं, चैत २५ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौं बाट पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ।
अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपालमा नरहेकोले प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोल बाट नोटिस जारी गर्ने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार उनीहरू हाल विदेशमा छन्। निर्वाचनअघि स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए र त्यहाँबाट हङकङ पुगेको जानकारी आएको छ।
यसअघि भदौ २४ मा ‘जेनजी आन्दोलन’का क्रममा बुढानीलकण्ठस्थित उनीहरूको निवासमा आगजनी हुँदा जलेका नगद नोट फेला परेको विषय सार्वजनिक भएको थियो। त्यसलगत्तै विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो। सोही घटनासँग जोडेर अहिले अनुसन्धान अघि बढाइएको जनाइएको छ।

