बागमती प्रदेशसभामा सभामुख चयन प्रक्रिया सुरु, दलहरूबीच दाबी तीव्र



काठमाडौं, चैत २५ — बागमती प्रदेशसभामा नयाँ सभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। यससँगै सत्तारुढ र प्रतिपक्ष दलहरूबीच सभामुख पदको दाबी तीव्र बनेको छ।

यसअघि सभामुख रहेका भुवनकुमार पाठकले जेनजी आन्दोलनपछि गत असोज १ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो। रिक्त पद पूर्तिका लागि अहिले दलहरूबीच आ–आफ्नो दाबी प्रस्तुत भइरहेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा प्रमुख दलहरूले सभामुख आफ्नो भागमा पर्नुपर्ने अडान राखेका छन्। नेपाली कांग्रेसले सबैभन्दा ठूलो दलको हैसियतले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले सत्तारुढ दलहरूबीच सहमति कायम गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।

उनले भने, “ठूलो दलको नाताले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हाम्रो अडान छ। तर सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्न हामी एक ढिक्का छौँ।” यता सत्तारुढ दलकै अर्को घटक नेकपा एमालेले भने प्रदेशको मुख्यमन्त्री कांग्रेसबाट भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले यस विषयमा कांग्रेससँग कुनै ठूलो विवाद नरहेको दाबी गरे।

उता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार र सदनबीच सन्तुलन कायम गर्न सभामुख आफूहरूले पाउनुपर्ने बताएको छ। दलका नेता शालिकराम जम्कट्टेलले सत्तापक्षबीच सहमति नभए आफ्नो पार्टीले उम्मेदवारी दिने चेतावनी दिएका छन्।“सत्तारुढ दलले सरकार चलाओस्, सदनको नेतृत्व हामीलाई दिइयो भने शक्ति सन्तुलन कायम हुन्छ,” उनले भने, “नत्र हामी उम्मेदवारी दिन्छौँ।”

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सभामुख पदमा आफ्नो दाबी प्रस्तुत गरेको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले यसअघि आफ्नै दलबाट सभामुख बनेका पाठकले राजीनामा दिएकाले पुनः सो पद आफ्नो दलले पाउनुपर्ने बताए।

हालै सुरु भएको प्रदेशसभाको १७औँ अधिवेशनसँगै सभामुख चयन प्रक्रिया अघि बढाइएको हो। संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया सुरु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्नेछ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३५, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का २६, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्