सार्वजनिक यातायातको भाडा बढ्दै, आजै निर्णय हुने तयारी



काठमाडौं, चैत २५ — सरकारले सार्वजनिक यातायातको भाडा बढाउने तयारी गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य आर्थिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धारण गर्न लागिएको हो।

इन्धनको मूल्य वृद्धि भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले यातायात व्यवस्था विभाग लाई भाडा समायोजन गर्न सहमति दिएको छ। मन्त्रालयको सहमतिअनुसार नयाँ भाडादर सम्बन्धी निर्णय आजै सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिनेछ। त्यस्तै, मालवाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइने जनाइएको छ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ का अध्यक्ष विजय स्वाँरका अनुसार इन्धनको मूल्यमा आएको परिवर्तन नै भाडा वृद्धिको मुख्य आधार हो।

यो निर्णय कार्यान्वयनमा आएपछि सर्वसाधारणले यात्रा तथा सामान ढुवानी गर्दा नयाँ दरअनुसार बढी शुल्क तिर्नुपर्नेछ, जसले दैनिक जीवनयापनमा थप आर्थिक भार पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्