कारागारभित्र झडप, पाँच जना कैदी घाइते



कञ्चनपुर, चैत २५ — कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा पाँच जना घाइते भएका छन्।

बुधबार मध्याह्न कारागारमा रहेका ३ सय ७२ जना थुनुवा कैदीमध्ये केहीबीच आपसी विवाद चर्किँदा होहल्ला, गालीगलौज र झैझगडा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनामा घाइते भएका कैदीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय भुवन नाथ, सोही स्थानका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका–७ का अन्दाजी २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का अन्दाजी २६ वर्षीय राजु दमाई रहेका छन्।

उनीहरूमध्ये घरेडी, नाथ र ऐरको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने बम र दमाईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी निरीक्षकको कमान्डमा १९ जनाको टोली खटाइएको र हाल कारागारको अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्