मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह



काठमाडौं,चैत २५ । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटका क्रममा नियोग प्रमुखहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहले नेपालले सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र पारस्परिक लाभमा आधारित सहकार्यलाई अझ मजबुत बनाउने नीति लिएको स्पष्ट पारे।

उनले नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित रहेको बताए। नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग पुर्‍याउने मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति नै साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए। उनले यस दिशामा अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।

त्यस्तै, सरकारले लगानीका लागि अनुकूल वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन र दिगो विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रिय हितलाई ध्यानमा राख्दै नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा सशक्त रूपमा समेट्ने लक्ष्य पनि सरकारले अघि सारेको प्रधानमन्त्री शाहले बताए।

उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै राजनीतिक स्थायित्व, पूर्वानुमानयोग्य नीति तथा स्थिर दिशामा सरकार अघि बढ्ने बताए। साथै विकास, व्यापार, लगानी, जलवायु अनुकूलन र जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य गर्न नेपाल इच्छुक रहेको जानकारी दिए।

प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारको प्राथमिकतामा राखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्