दाउन्नेमा वर्षाका कारण सवारी जाम, यात्रुहरू प्रभावित



काठमाडौं,चैत २५। बुधबार बिहानदेखि परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा सवारीसाधनको लामो जाम लागेको छ । सडक चिप्लिएको कारण सवारीसाधन उकालो उक्लन नसक्दा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको हो ।

बिहान करिब १० बजेदेखि रोकिएका सवारीसाधन दिउँसो ४ बजेदेखि आंशिक रूपमा सञ्चालनमा आए पनि सडक चिप्लो रहेकाले जामको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । मध्यान्हदेखि परेको निरन्तर वर्षाले दाउन्ने सडक खण्ड थप जोखिमपूर्ण बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशल बर्तौलाका अनुसार सवारीसाधन विस्तारै सञ्चालनमा आए पनि वर्षा नरोकिएकाले समस्या कायमै रहेको छ ।

लामो जामलाई व्यवस्थापन गर्न तथा यात्रुबाहक सवारीलाई प्राथमिकता दिन मालबाहक तथा ठूला सवारीसाधनलाई पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमै रोकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्