सार्वजनिक यातायातको भाडा वृद्धि, बुधबारदेखि नयाँ दर लागू



काठमाडौं, चैत २५ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। इन्धनको मूल्यमा आएको उतारचढावका आधारमा भाडा समायोजन गर्ने व्यवस्था अनुसार नयाँ भाडादर लागू गरिएको हो।

यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्म घटबढ हुँदा भाडा समायोजन गर्ने प्रावधानअनुसार निर्णय गरिएको हो।बढेको भाडादर बुधबारदेखि लागू भएको विभागले जनाएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि विभागले नयाँ भाडादर निर्धारण गरेको हो। सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा १६ दशमलव ७१ प्रतिशत भाडा वृद्धि भएको छ।

त्यस्तै, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २१ दशमलव ६८ प्रतिशत र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारीमा १५ दशमलव ७५ प्रतिशत भाडा बढाइएको विभागले जानकारी दिएको छ।

विभागका निर्देशक श्रीकान्त यादवका अनुसार एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडा विभागले निर्धारण गर्नेछ। सोही आधारमा सम्बन्धित प्रदेशहरूले आन्तरिक भाडादर समायोजन गर्नेछन्।

उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको हकमा भने बागमती प्रदेश सरकारले भाडादर निर्धारण गर्नेछ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विभागको निर्णयपछि प्रदेशमार्फत नयाँ भाडादर कार्यान्वयनमा आउने जानकारी दिए।

सरकारले २०७८ चैत ३१ गतेदेखि स्वचालित भाडा प्रणाली लागू गरेको थियो। सो व्यवस्थाअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भए अन्तरप्रदेशीय यातायातको भाडा स्वतः समायोजन हुने प्रावधान छ।

यद्यपि, प्रदेशस्तरमा लागू हुने वास्तविक भाडादर भने सम्बन्धित प्रदेशहरूले सरोकारवालासँग छलफल गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने विभागले जनाएको छ। बढेको भाडादर विद्युतीय सवारी साधनमा भने लागू नहुने स्पष्ट पारिएको छ।विभागले चैत २२ गते नै भाडा समायोजनका लागि प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो। उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि नयाँ भाडादर लागू गरिएको हो।

प्रतिक्रिया दिनुहोस्