आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा सार्वजनिक भएका समाचार भ्रामक: देउवा
काठमाडौँ,चैत २५ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ ।
साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो समय बाहिर आएका समाचारप्रति कुनै सत्यता नभएको भन्दै आपत्ति जनाउनुभएको हो ।
जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेसँगै देउवाको यो प्रतिकृया सार्वजनिक भएको हो । प्रहरीले नेता देउवा र उहाँकी श्रीमती आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सुरु गरेको छ।
देउवाले नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा आफूले परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ ।
हाल आफू स्वास्थ्य परीक्षणका क्रममा विदेशमा रहेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री देउवाले उपचार प्रक्रिया सम्पन्न गरी छिट्टै स्वदेश फर्किने समेत उल्लेख गर्नुभएको छ ।
उहाँले भ्रामक प्रचारका पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।

