सुनचाँदीको मूल्यमा गिरावट, एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
काठमाडौं, चैत २६ — नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन उच्च दरले बढेको सुनको भाउ आज उल्लेख्य रूपमा ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ।बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज तोलामा ४ हजार ३ सय रुपैयाँले गिरावट आएको हो।
यसअघि बुधबार मात्र सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

