१३ दिनपछि हिरासत मुक्त भए रमेश लेखक
काठमाडौं, चैत २६ — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासतबाट मुक्त भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मामा हाजिरी जमानीमा रिहा गरिएको हो।
जेनजी आन्दोलनसँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनी १३ दिनपछि हिरासतबाट मुक्त भएका हुन्।
गौरी बहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेपछि लेखक पक्राउ परेका थिए। यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि रिहा भइसकेका छन्।

