१३ दिनपछि ओली रिहा, ‘प्रतिशोधपूर्ण नियन्त्रणमा राखियो’ भन्दै सरकारमाथि आरोप
काठमाडौं, चैत २६ — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सरकारले प्रतिशोध र पूर्वाग्रह राखेर आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखेको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले फौजदारी अभियोग लगाएर गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्। मुद्दा चलाउन आवश्यक आधार र प्रमाण नपुगेपछि आफू अन्ततः रिहा भएको उनको भनाइ छ।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले उल्लेख गरेका छन्।साथै, उनले आफ्नो स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी पनि दिएका छन्।

