एम्बुलेन्स दुर्घटनामा चालकसहित दुईको ज्यान गयो
कालिकोट,चैत २६— जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका अन्तर्गत मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति करिब ८ बजेतिर भएको दुर्घटनामा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्।उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

