श्रममन्त्री साह पदमुक्त, मेहतालाई चेतावनी
काठमाडौं, चैत २६ — प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई बिहीबार पदमुक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार प्रधानमन्त्रीले उक्त निर्णय गर्नुभएको हो।
रास्वपा सभापति रवि लामिछाने ले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोपसहित कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुभएको थियो।
यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले विषयमा अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। उक्त गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर आँच पुर्याएको ठहर गर्दै सभापति लामिछानेले प्रतिवेदनसहित प्रधानमन्त्रीसमक्ष सिफारिस पेस गर्नुभएको थियो।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिनुभएको छ।रास्वपाले पार्टी विधानअनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादाको रक्षा गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ व्यवस्था अन्तर्गत जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने जनाएको छ।
यसैबीच, सोही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई समेत प्रधानमन्त्री शाहले चेतावनी दिनुभएको छ।

