वैशाख १५ देखि नयाँ शैक्षिक सत्र, भर्ना अभियान पनि सोही दिनबाट



काठमाडौं,चैत २६। शैक्षिक सत्र–२०८३ वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । सरकारले यसअघि नै सोही मितिबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको थियो।

भर्ना कहिलेबाट सुरु हुने भन्ने अन्योलका बीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान पनि वैशाख १५ गतेबाटै सुरु हुने स्पष्ट पारेको छ।

केन्द्रद्वारा जारी सूचनाअनुसार भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु भई वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन हुनेछ।

यसअघि प्रत्येक वर्ष वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आएको थियो। नयाँ व्यवस्थाअनुसार यस वर्ष भने केही ढिलो गरी सत्र प्रारम्भ गर्न लागिएको हो।

सूचनामा वैशाख २ गतेदेखि विद्यालयहरूलाई प्रवर्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, वैशाख १५ गतेअघि नै शैक्षिक सत्रका कार्ययोजना, वार्षिक कार्यतालिका, शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने काम सक्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्