पूर्वी नेपालमा वर्षा गराउने प्रणाली कमजोर हुँदै, रातिदेखि मौसम खुल्ने सम्भावना



काठमाडौं, चैत २६ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकसित भएको वर्षा गराउने प्रणाली हाल पूर्वी नेपालतर्फ केन्द्रित हुँदै कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको उक्त प्रणाली साँझसम्म पूर्वी क्षेत्रमा पुगेको र अहिले विस्तारै बाहिरिने क्रममा रहेको छ । यद्यपि पूर्वी नेपालका विभिन्न स्थानमा अहिले पनि वर्षा जारी रहेको छ ।

विभागले उक्त प्रणाली आज रातिदेखि क्रमशः बाहिरिने भए पनि प्रिमनसुनका गतिविधि भने कायम रहने जनाएको छ । पछिल्लो २४ घण्टामा देशका सातै प्रदेशमा वर्षा भएको छ भने चार जिल्लामा भारी वर्षा मापन गरिएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा ५९.४ मिलिमिटर मापन गरिएको छ ।

अभिलेख अनुसार इलाममा ५३.२ मिलिमिटर, झापामा ५४.८ मिलिमिटर र सुनसरीमा झण्डै ४९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल पश्चिम क्षेत्रका रुकुम र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमती प्रदेशका केही स्थान तथा कोशी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पश्चिमदेखि मध्यसम्म मौसम क्रमशः खुल्दै गएको छ र रातिदेखि मौसम थप सुधार हुँदै जाने अपेक्षा गरिएको छ । केही उच्च पहाडी तथा हिमाली भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ ।

उनका अनुसार शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यस्तै कोशी प्रदेशका पहाडी तथा हिमाली भेग र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्