आर्मीको दमदार जित, प्रधानमन्त्री कपको फाइनल नजिक
काठमाडौं,चैत २६ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनल नजिक पुगेको छ। आज भएको खेलमा दोस्रो स्थानको सुदूरपश्चिम प्रदेश लाई सात विकेटले पराजित गर्दै आर्मीले तेस्रो स्थानको मधेश प्रदेश भन्दा चार अंकको अग्रता बनाएको हो।
लिग चरणअन्तर्गत आफ्नो सातौं खेलमा आर्मीले १ सय ५१ रनको लक्ष्य २० ओभर २ बलमै पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५० रनमा समेटिएको थियो।
सुदूरपश्चिमका ओपनर अभिषेक पाल र खडक बोहराले १४ रनको सामान्य साझेदारी गरे। बोहरा १३ रनमा आउट हुँदा पालले २४ रन बनाए। त्यसपछि लगातार विकेट गुम्दा टोली दबाबमा परेको थियो।आठौं नम्बरमा आएका नारायण जोशीले भने उत्कृष्ट प्रदर्शन गर्दै ६० बलमा ६३ रन बनाए। उनले ८ चौका प्रहार गरे पनि अन्य ब्याटरबाट पर्याप्त साथ पाएनन्।
अशोक धामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। आर्मीका बसिर अहमदले ९ ओभर १ बलमा ५ विकेट लिँदै विपक्षीलाई सस्तैमा रोक्न महत्वपूर्ण भूमिका खेले।
जवाफमा आर्मीले अनुभवी ब्याटिङ प्रदर्शन गर्यो। त्रित राज ५ रनमै आउट भए पनि विनोद भण्डारीले ७५ बलमा शतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाए। उनले १२ चौका र ५ छक्का प्रहार गरे। भीम सार्कीले १६ तथा कुशल मल्लले २६ रनको योगदान दिए।
सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए पनि आर्मीको जित रोक्न सकेनन्। पराजयका बाबजुद १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा कायम छ।

