बिस्का जात्राको पूर्वसन्ध्यामा तःमारीमा भव्य धिमे नृत्य
भक्तपुर,चैत २६— नयाँ वर्षसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिस्का जात्रा को पूर्वसन्ध्यामा तःमारी क्षेत्रमा भव्य धिमे नृत्य प्रस्तुत गरिएको छ।
उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवापुस्ता तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परागत पोशाकमा सजिएका कलाकारहरूले धिमे बाजाको तालमा सामूहिक नृत्य प्रस्तुत गर्दा सम्पूर्ण वातावरण जीवन्त बनेको थियो।
श्री नासः हैमा धिमे खलःको संयोजनमा सम्पन्न भएको कार्यक्रममा खलःका सदस्यहरूले परम्परागत धिमे बाजा बजाउँदै नेवार समुदाय को मौलिक संस्कृति झल्काउने प्रस्तुति दिएका थिए। धिमे नृत्य नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ, जसले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको परम्परालाई प्रतिनिधित्व गर्छ।
बिस्का जात्राको पूर्वसन्ध्यामा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय कला, परम्परा र पहिचानको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनु रहेको आयोजकले जनाएका छन्।
प्रत्येक वर्ष धुमधामका साथ मनाइने बिस्का जात्राअन्तर्गत रथयात्रा, सांस्कृतिक झाँकी तथा विभिन्न परम्परागत कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, जसले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ।

