पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, निगम अझै घाटामा
काठमाडौं,चैत २७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नुपरेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ। हाल पेट्रोलमा प्रति लिटर १६ रुपैयाँ ६५ पैसा, डिजेलमा १०९ रुपैयाँ ५० पैसा तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमले जनाएको छ।यस्तै, एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ वृद्धि गरिएको छ, जसअनुसार १४.२ केजी ग्यासको मूल्य २,०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ।
निगमले लागतअनुसार पूर्ण मूल्य समायोजन नगरे पनि घाटा कायमै रहेको जनाएको छ। मूल्य वृद्धि पश्चात् पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।निरन्तर घाटा बढिरहेमा इन्धन आपूर्तिमा समस्या आउन सक्ने चेतावनी दिँदै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।


