नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क निर्धारण, कुन सवारीको कति ?



काठमाडौं,चैत २७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क निर्धारण गरेको छ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुङमार्ग उपभोगबापत दस्तुर लिने दर सार्वजनिक गरेको जनाएको हो। उक्त निर्णय सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) अनुसार गरिएको हो।

मन्त्रिपरिषद्ले गत साउन २६ गते नै शुल्क निर्धारण गर्ने निर्णय गरेको भए पनि सोही आधारमा अहिले राजपत्रमार्फत दर सार्वजनिक गरिएको हो।

नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।

त्यसैगरी मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्