राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं, चैत २८ — राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकलाई आज शुक्रबार सम्बोधन गर्नुहुने भएको छ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो। प्रतिनिधि सभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त बैठक बस्न लागेको यो पहिलो पटक हो।
संविधानको धारा ९५(२) मा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
संघीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकका लागि सांसदहरूलाई दिउँसो २:४५ बजेसम्म उपस्थित भइसक्न सूचना जारी गरिसकेको छ।

